शुभाङगी प्रथा पहिलो भाग :
एम पि.दगलसिं सेनको जीवनी – ज.वि.सं.१९६१ साल माघ १६ गते शनिबार
“एम पि.दगलसिं सेन लिम्बुको स्वभाव सामान्य र विलक्षणको समिश्रण थियो । संक्षेपमा उहांको पुरा जीवन चरित्रलाई २ भागमा चित्रण गरिएको छ । पहीलो किपट सुभाङगी थिती र पछि कांग्रेस राजनिती ।”
क) पेंवाना : यस वंसावलीमा २२ औं पुस्ताको जेठा काकीहाङको ३ भाइ छोरा मध्ये क्रमस २३.१.जेठा हाङमती राय,२.माहिला नन्दहाङ याङनाम बस्यो र ३.कान्छा हाङदुमराय चौविस पेंवाना आई बस्न थाल्यो । पेंवाना गङ (गाउं) मा पुर्व तर्फ थेगफल खोल्छा र पश्चिम तर्फ कम्फुवां खोला सिर पर्दछ । दुबैको सिरमा यो पेंवाना (बेङना,बेगना) भन्ज्याङ भई बसेको छ । आवादीको प्रारम्भमा थेगफल खान धेरै मृघहरु आउने गर्दथ्यो, अघाएर निदाई बस्दा बस्दै वास थलो बनाएकोले पेंवाना नाम रहन गएको हो । थेगफल पाईने खोल्छा ठेगबल खोल्छा भयो । पेंवा भनेको मृघ हो, ना भनेको बास थलो । २३.३.कान्छा हाङदुमराय चौविस पेंवाना आई बस्नेको २४.८.कान्छा लेकोमा,२५.१.जेठा युहाङगोन्दा,२६.१.जेठा मनवीर, २७.३.साईला सु.महासेर,२८.१.एक्ले कृष्णध्वोज – कृष्णध्वोजको छोरा एक्लो एम.पि. दगलसिं सेन हुनु हुन्थ्यो ।
ख) बुबा कृष्णध्वजको पहिरन : “गहुगोरो अनुहार छोटो जुगा राख्ने सेतो धोती फेटा मोटो कोट जुत्ता लगाउंने देखेको हुं । धेरै नकोल्ने मृदुबाणी सफा सुगर बस्ने, धर्म कर्ममा जोड दीने उहाको स्वभावको थियो । पछि सेतो दौरा सुरुवाल कालो कोट, कालो टोपी कहिले झै झगडा मार पिट भएन रिस ईबी नराख्ने स्वभाव थियो । पछि सेतो दौरा सुरुवाल कालो कोट, कालो टोपी जुत्ता मोजा पटुका लगाउंनु हुन्थ्यो । कृष्णध्वज का मुख्य सल्हाकार काजी दलबीर थापा, मुखिया कुलराज भण्डारी थिए । उनीहरुको परामर्स लिएर काम गर्नुहुन्थ्यो । त्यस बेला बेगना गाउंमा २१ घर थिए भन्ने कुरा मेरा हजुरबा ले भन्नु हुन्थ्यो ।”1
महासेरले आज भन्दा २०० वर्ष अघि चौविसथुमको डाडाबजार –४ वेङना गाउँमा १४ सय १४ रुपैया १४ आनामा निर्माण गरेको ऐतिहासिक मुण्डा घर,वि.सं.२०७७ सालमा मरमत संभार पछि ।
ग). दगलसिं सेनको जन्म घर : “बुबा कृष्ण ध्वज र आमा रथहाङमा याखाको कोखबाट वि.सं.१९६१ साल माघ १६ गतेका दिन, चौविस थुम धनकुटा डाडाबजार पेवाना(बेगना) गाउमा जन्म भएको थियो । दगलसिं एकै भाइमात्र जीवीत रहनु भएको थियो, त्यस बेला कतै स्कुल नभएकोले बाल्यकाल संगै घरेलु शिक्षा रथहाङमा आमाले घरमै सिकाउनु भएको थियो । उहांको लिपी राम्रो भएकोले सबैले बहीदार पनि भन्ने गरेको थियो ।”2 “वहाले वि.सं.१९८२ साल तीर १९ बर्षको उमेरमा छथरथुम हालको धनकुटा तांखुवा बस्ने नरमाया पारघरीमा संग विधिवत रुपमा विबहा गर्नु भएको थियो । जेठा छोरा हंस बहादुर, जेठी छोरी एक्ली, माहिला छोरा प्रेमसिं सेन, साहिला छोरा भुवासिंसेन, काहिला छोरा तिलकसिं सेन र ठुलो कान्छा छोरा भैरवसिं सेन वि.सं.१९९५ साल पुष महिनामा जन्म भएको ६ महिना पुग्दा नरमाया पारघरीमाको निधन भयो । वालबच्चा हुर्काउने कार्यभार बोजु रथहाङमाको हातमा रहन गयो । पारिवारिक समस्या बुझेर सबैको अनुरोधमा वि.सं.१९९७ सालमा चौविस फाक्सीव माईती वासाप्ला बस्नेछोरी १ जना साथमा भएको विधवा जय लक्ष्मी चेम्जोङलाई माइती संग मागी विबाह गर्नु भएको थियो । वि.सं.२००४ साल जेठ महिनामा तिम्ल्या छोरीहरु गंगा, जमुना र सरश्वतीको जन्म भयो । ३ बर्षको उमेर पुग्दा सरश्वतीको निधन भयो । वि.सं.२००७ साल साउन १४ गते शनीबार सानो कान्छा जनकसिं सेनको जन्म भएको थियो ”3 । यस प्रकार उहा ६ भाइ ३ वहिनीको पिता हुनु हुन्थ्यो ।
छोराहरु जेठा हंस बहादुर, प्रेमसिं सेन, भुवानसिं सेन पछाडी तिलक सिं.सेन, भैरवसिं सेन र जनक सिं सेन
बुहारीहरु दायांबाट जेठी चनमाया ईवा, माहिली प्रेममाया राई, साहिली आस माया नेम्बाङ, काहिली देशमाया ईम्सङ, कान्छी किष्ण माया देवान, सानो कान्छी चन्द्रमाया ईवा ।
घ) जन्म पुर्व समयको राजनैतिक अवश्था : मकवान सेन बंशहरु समकालीन हुदै आऊने शाह वंशीय राजाहरुको क्रममा गीर्वाणयुद्ध वित्रम शाहको जेष्ठ छोरा वि.सं.१८७० मा जन्मेका श्री ५ राजेन्द्र विक्रम १८७३ मंसीर ८ देखि ३ बर्षको उमेर मै गद्धीसीन गराइ १९०४ सम्म राजेन्द्र विरविक्रम शाहको कार्यकाल रहन गएको थियो । उनकै कार्यकाल वि.सं.१९०३ भदौ ३१ मा हत्याकाण्ड कोत पर्व देखी जंगबहादुर राणाले राणाहरुको पारिवारीक शासनको जग बसाल्दै वि.सं.२००७ साल सम्म १०४ वर्ष सम्म राणा शासन चलाए । चलेकोले उनीहरुको परिवार र उच्चजातीको रुपमा बनीएका बाहुनहरु बाहेक कसैले पनि लेखपढ गर्न पाउंदैन थियो । “यो एकतान्त्रीक शासन नेपालमा वि.स.१९०३ खेखी २००७ साल सम्म कायम रहर्यो । यसमा राणा प्रधान मन्त्रीहरुका भाई वंसहरुमा पद सर्दै जाने नियम थियो । देशका मुख्य मुख्य शक्तिशाली पदहरुमा पनि राणा खान्दान कै मानिसहरु नियुक्त हुन्थ्यो । आधारभुत मौलिक अधिकार हुदैनथ्यो । राणाहरुले जे बोल्यो कानुन सरह लागु हुन्थ्यो ।”4 नेपालको ईतिहासमा त्यो समय अन्धकारको युग थियो । अर्कातीर शाहवंश पुर्व (ई.स.१४०० देखी १८०० सम्म गोर्खा शाह वंसले मकवान सेन बंसको शासनकालको पिछा कसरी गरे ? बैवाहिक सम्बन्ध कायम यसरी राखेका थिए– गन्धर्वसेनको छोरी कौशल्यावती नरभुपाल शाहले विबाह गरे, छोरा पृथ्वीनारायण शाहले हेमकर्ण सेनको छोरी ईन्द्र कुमारी संग विबाह गरे, रण बहादुर शाहले महादत्तसेनको छोरी चन्द्रवती विबाह गरे यस प्रकार समकालीन हुंदै शाह वंशको छलकपट सहितको हिंसात्मक एकिकरण अभियान चलीरहेको थियो । सत्ता च्युत गर्ने तरीकाहरु यस्तो थियो विबाह सम्बन्ध कायम गरी दहेजको पहिलो बहाना, मितेरी सम्बन्ध कायम गरी लेनदेनको दोस्रो बहाना, शिकार खेल्न जाने अनी मारीनु पर्ने तेस्रो बहाना, जाती च्युत गरी दिने चौथो बहाना, लेखपढ गर्न नदीने र केही सिप नलागेमा एकीकरण युद्धको माध्यमबाट सासन शत्ता खोसी लाने गरेको थियो । वल्लो किरात, माझ किरात र पल्लो किरातमा चलेको मकवानी थिती रितीहरु (किपट प्रथा) विनास गराई दै थियो । आफ्नो भाषा लिपी लेखपढ गर्न दिईंदैन थियो । त्यसबेला यसो भन्थे “ गोर्खा राज्यमा, याक्थुङ भाषा लिपी लेख्न पढन जान्द छु नभन्नु, लेखे, पढे, सुने देखे नभन्नु गोर्खा राजाले ज्यान सजाय दिन्छ भन्दथे । गोरखा शाहवंशहरुको कडा दवावको परिणाम स्वरुप जातीय पहिचान र आत्म रक्षाको लागी बाध्य भई नाम थर फेर्नु पर्दथ्यो । अर्को तर्फ हिन्दु बाहुन क्षेत्रीहरुले मानी ल्याएको राजाहरु हिन्दुपति भनेर सम्बोधन गरेका थिए । बाहुन क्षेत्रीहरुले आफनो मनो आकांक्षा धर्मको माध्यमबाट प्रभाव पार्दै “मकवान सेन वंसहरु छांयामा पार्दै गरेको कुरा पछिल्लो पुस्तामा आएर सम्बत १७६३ साल आस्मीन वदी ४ को रानी पद्यमीधाता ईन्दुराज राजेश्वरील पुर्णियाका नवाब वजीर विरुद्धमा लड्न ८ राय सरदारहरुलाई सहयोग माग पत्रबाट, १८१४ सालमा कामदत्त सेनले मुकाम विजयपुरबाट राय (लिम्बुहरुको पुर्खा)हरुलाई दिएको स्याहामोहर बाट, शाहवंसहरुबाट प्राप्त विभिन्न साल सम्बतको लालमोहरबाट, कस्य रुक्काहरुको उल्लेख बाट मकवानसेन कालीन चर्ची बेहोरी आएको तिम्रा थितीरिती भुमी प्राकृतीक श्रोत साधन भोगगरी खानु भनेर दिएको कैयौ दस्ताबेजहरुबाट सेन राजाहरुको मातहातमा १० लिम्बु (सम्बत १८२४ ) सरदारहरु थिए । यसबाट राय लिम्बुहरु संग मकवान सेन राजाहरु र सिक्कीम नाम्गेलहरु सम्म सम्बन्ध थियो भन्ने कुरा विजयपुर को सेनकालीन गोरखा विरुद्धको युद्धमा सिक्कीमले सहयोग दिएको ईतिहासबाट बुझन सकिन्छ । ” अरु मासिने तिमिहरु नमासिने, हिजुको तिम्रो मुलुक मेरो प्रतावले आज मेरो भयो । युद्धमा जित्न नसके पछि बैचारीक युद्धमा सेन राजबंसहरुको सन्तान तुतु तुम्याहाङहरु संग गरेको सम्झौता विं.सं.१८३१ साल साउन २२ रोज २ को लाल मोहर बाट यो वंसको ईतिहास बुझन सकिन्छ ।
ङ) वि.स.२००८ शुभाङगी विन्ती पत्रको कारबाही आदेश गौंडा धनकुटा : पल्लो किरात धनकुटा जिल्ला भरका जिम्मावल तालुकदार सुब्बा, राइ, कारबारी, मुखियाहरुलाई धनकुटा गौंडाबाट वि.सं.२००८ सालमा श्री ५ महेन्द्र विर विक्रम शाह राजालाई चढाएको विन्ती पत्र बमोजिम, आदेश अनुसार थिती बन्दोवस्त गर्न भनी वि.सं.२०१३ सालमा वोलाएको पत्र ।
च) वि.स.२०१२ सालको शुभाङगी फैसला पत्र : वि.सं.२०११ सालको वर्षा याममा ५ दिन ५ रात अविरल मुसलधारे पानीको परेको कारणले धनजनको ठुलो क्षेती बेहोर्नु पर्दा टांडी आदीपुर खलंगे का जिम्मावल रघुवीर बुढाथोकी र बृखध्वोज समेतको तीरो तिर्न बांकी हुंदा उक्त शुभाङगी क्षेत्र लिलाम भएको थियो । धरै जिम्मावलहरुले मैले पाउंनु पर्छ भनी अदालतमा मुद्धा दावी गरेको थियो । वि.स.२०१२ साल माघ १२ गते ५ रोज का दिन सु.दगलसिं सेनको पक्षमा फैसला भयो ।
२.पल्लो किरात धनकुटा गौंडा : सदस्य श्री दगल सिं सेन चौविसे बेगना, पल्लो किरातको रिती थिती बारे छलफल गर्न धनकुटा गौंडामा उपस्थित हुनु भन्ने पत्र मिती १०१५।८।२।२ मा । “त्यस समयमा धनकुटा गौडा प्रमुख भइ हालको संखुवासभा, ताप्लीजुङ, तेह्रथुम र पान्थर जिल्लाहरुलाइ प्रसाशनिक रुपमा धनकुटा गौडाले हेर्ने गरेको थियो ।” “नेपाल वि.सं.२०१५ साल सम्म गोर्खा शाह वंस पृथीवीनारायण शाहको पालामा निर्मित ३२ जिल्ला मात्र थियो । थपींदै लग्ने क्रममा पछि तेह्रथुम, पान्थर( फिदीम) ताप्लीजोङ, संखुवा सभा जिल्लाहरु थपिए पश्चात अधिराज्यमा ७५ जिल्ला हुन पुगेको हो ।” मकवान सेन बंसी राजाहरुको पाला देखी नै चर्चि बेहोरी आयाको जीमी भुमी सबै थामी लिएको हुंदा उक्त भुभागको शासन प्रबन्ध लिम्बु सुव्वा जिम्मावलहरुले चलाएको थियो, बर्षेनी कर गोर्खा सरकारलाई बुझाउंनु पर्दथ्यो । मकवानी रीती थिती अनुसार किपट भुगोल व्यबस्थापन एबं संचालनको लागी जीमेवारी विभाजन यस प्रकार गरिएको थियो । अग्नी प्रसाद दहाल भन्नु हुन्छ....“वहाहरुले गरेको काम सबै म बुझदिन थिए, तर मलाइ के थाहा थियो भने रैती भन्दा ठुलो मुखिया–मुखिया भन्दा ठुलो सुब्बा–सुव्वा भन्दा ठुलो आगे सुव्वा – (आगे सुव्वा) दाम कामे हुदो रहेछ । सबै सुव्वाहरुको काम गर्ने ठुलो मान्छे पनि हुदो रहेछ ।”8
क) शुभाङगी संगठन – “श्री दगलसिं सेन सुव्वा धेरै पहिले देखी धनकुटाको माल कार्यलयमा खरिदारको पदमा रही काम गर्नु भएको थियो । कार्यभार संचालन गर्न सजिलो होस भनी पुर्वान्चलको माल आगे सुव्वाहरुको संगठन पनि दगलसिं सेनले निर्माण गरेको थियो ।”9 श्री डगलसिं सेन लिम्बुले सुब्बाहरुबाट संकलन गरीएको राजश्व पल्लो किरात ६ थुम माल अड्डा धनकुटा गौडामा बुझाएको भर्पाइ पत्र – वि.सं.२०१२ बैषाख २१ गते को र दण्ड जरीवाना लागे वापतको भर्पाइ पत्र ।
१.दामकामे आगे.सु.श्री दगलसिं सेन लिम्बु डांडावजार पेवाना — चौविस धनकुटा
२.सु.श्री नारायण प्र.चेम्जोङ लिम्बु राजारानी — मिक्लुक धनकुटा
३.तालुकदार सु.श्री रण बहादुर मावोहाङ ऐसेलुखर्क — धनकुटा
४.सु.श्री कर्ण सिं सुव्वा टांडी — मिक्लुक मोरङ
५.सु.श्री विर्खध्वोज सुव्वा खलङगे आदीपुर — मिक्लुक मोरङ
वि.सं.१९८९ सालमा आगे सुव्वा दगलसिं सेन लिम्बुले आफ्नो चेली राम्री लिम्बुनी जिम्माको दण्ड जरीवाना उठाएर माल अड्डामा बुझाएको भरपाई निसा ।
ख) दगलसिं सेनको शुभाङगी क्षेत्र :– तराइमा : वि.सं.२०१५ साल पछि “उहाको कार्य क्षेत्र मिक्लुक थुमको साक्फारा, बांझो, चुलाचुली कमल खोला हालको ईलाम, मोरङ जिल्लाको भावर क्षेत्र मावा खोला पुर्व, सम्म, सुन्सरी जिल्लाको बराह क्षेत्र कोका खोला पुर्व खदम खोला सम्म र हर्दीया डांडा पुर्व उत्तर कुरुले यक चौविस थुम धनकुटा जिल्ला परेको थियो ।” पहाडमा : धनकुटा कुरुले यक र मिक्लुक थुममा समेत जिम्मा परेको थियो । आफ्नो बाहेक कुर्लेयक राम्री लिम्बुनीको जिम्मा नुवा खोला दक्षिण, मिक्लुक थुमको मेक्वा माई दक्षिण माल उत्तर मावाखोला पुर्वको भाग एक भन्दा धेरैशुभाङगी कार्यभार संभालेकाले आगेशुव्वा भनिन्थ्यो । जम्मा ६ थुमका मालपोत (राजवश्व)कार्यभार सम्भालेका थिए । बहिदारहरुका खरीदार पनि भन्दथे । पछि सम्म बोलाउंने गाउंले नाम बहिदार भयो ।
“वि.सं.२०२६ सालमा डिक बहादुर लिङदेन मामाको घरमा डगलसिं लिम्बु भेटघाटको क्रममा आउनु भएको रहेछ । तेसै बेला मामाले मेरो घरमा लिएर आउनु भई यो मेरो भान्जा छवि नेम्बाङलाई हजुर के कसरी हुन्छ.....सुव्वा याक्पे स्वर सावाको जिम्मा रहेको केही जमीन जिल्ला मोरङ टाडी गा.वि.स.६ रचनाको जग्गा के कती मिलाइ दिन सकिन्छ यसो दया गरी दिनु परो भनी विन्ती विसाइ दिनु भयो । उहाले एक शव्द नबोली गोजीबाट एउटा कागज झिकी अधिकार पत्र लेखि दिनु भयो, विगत वर्षमा पाहुना बाजे दगल सेन लाई साक्फारा हुंदै रातारात भारत भाग्न बाटो देखाउंदै भगुवा खोला (मेची नदी) पारी पानी घटा पुर्याएको गुनले आज मैले यत्रो ठुलो अधिकार पाएको होला भनी सम्झन पुगें । मामाको सिफारिसमा डगलसिं सेन बाजेले दिनु भएको जग्गा मेरै नाउमा दर्ता भै आज सम्म जोत भोग गरी रहेको छु । आज सम्म वहाको वोली बचनहरुको याद आई रहन्छ ।”11
ग) भुमीसुधार लागु हुनु अगाडीको शुभाङगी जग्गा धनी प्रमाण — पत्र ।
घ) पृथ्वीनारायण शाहबाट लालमोहर नगडा नीसान प्राप्त : “उनका पुर्खाहरुलाई बडामहाराज धिराज पृथ्वीनारायण शाहबाट पल्लो किरातका शुभाङ्गी पदका साथ खड्ग निसाना र लालमोहर बक्सेको थियो ।” यस अन्तरगत बन्दुक बारुद, खुंडा तल्वार, नगडा, ढाल चौरीको पुछार ईत्यादी पर्दथ्यो । त्यसैले परमपरागत रुपमा :“पुर्वाञ्चल मै लालमोहर बमोजीम उत्तरमा हिमाल, दक्षिणमा भुडे सिमल टेडे गाछी, पुर्व मेची नदी, पश्चिम अरुण नदी चार किल्लालाई संरक्षण गर्नमा पनि एम.पि.सुव्वा डगलसिं सेन लिम्बुको अतुलनीय योगदान छ भनेर हामी संधै सम्झने गर्दछौं ।” वि.सं.२०१३ सालको किपट लिम्बुवान प्रतिनिधि मण्डलमा समाबेस हुंदै श्री ५ महेन्द्र राजा लाई भेट विन्ती गर्न जानु भएको थियो । वि.सं.२०३९ साल पुस ३० गते धनकुटा जिल्ला राजा श्री ५ विरेन्द्र वीर बिक्रमको पुर्वान्चल सवारी हुंदा किपट लिम्बुवानको थितीरिती संरक्षणको लागी विन्ती पत्र बुझाउंन जानु भएको थियो ।
तरवार, नगडा, खुंडा, ढाल र बन्दुक
ङ) सुव्वाहरुलाई निमन्त्रणा पत्र– वि.सं.२०१४ साल मंसीर १५ गते पल्लो किरात तेह्रथुम जिल्लामा लिम्बुवान प्रतिनीधिहरुलाई सम्मेलनमा सहभागी हुनु भनी वोलाईएको पत्र :
च) शुभाङगी समाप्त : वि.सं.२०१५ सालको पहिलो आम चुनावमा कांग्रेसले सरकार गठन पछि मुलुकमा अराजक असान्ती उपद्रोह मच्चीएको हुंदा १८ महिना पछि “वि.सं.२०१७ पौष १ गते श्री ५ महेन्द्र राजाबाट संसदीय सरकार विघटन गरी राज नेताहरुलाइ अराष्ट्रिय तत्वको लान्छना लगाई मृत्यु दण्ड दिने क्रमबद्ध अभियानमा कैयौं राजनेताहरु सहिद भए । ।” अर्कातीर वि.सं.२०१७ साल चैत्र २७ गते रोज १ मा प्रेम बहादुर मावोहाङ मार्फत लालमोहर आएको थियो । त्यस पछि किपट भु स्वामित्व सुव्वा जिम्ममावल तालुकदारहरुको जिम्मेवार खोस्नलाई वि.सं.२०२७ साल देखी वि.सं.२०२९ हुंदै साल २०३१ साल सम्ममा भुमी सुधार ऐन सर्भे नापी लागु भए पछि सरकारले जोताहालाई जग्गा दर्ता प्रमाण पुर्जा वितरण गरी स्वयं सरकारले मालपोत उठाउंन थाले त्यस पछि शुभाङ्गी थिती समाप्त भयो ।
प्राकृतिक सम्पदा खोला नाला वन जंगल सबैमा चलाएको अधिकार खोसिन थाले पछि राजा कहा विन्ती पत्र चढाउंथे ।
छ) राजालाई विन्ती पत्र – वि.सं.२०२९ साल पश्चात वि.स.२०१८ । ११ । ३०को अरुण सर्कुलर बमोजिम किपट भुमीको बन्य प्राकृतीक संसाधन लिम्बुवान कै अधिनमा रहेकोमा, हस्तक्षेप नगर्नु भन्ने ईलाम डिभिजन को नाउमा हुकुम गरी पाउ भनी श्री ५ महाराज धिराज सरकारमा चढाएको विन्ती पत्र ।
निवेदकहरु
टांडी आदीपुर मौजाका मोरङ विराटनगर बांझो गाउं पन्चायत वडा नं.९ बारगोठे बस्ने तालुकदार सुब्बा श्री रण बहादुर मावोहाङ । ऐजन बस्ने सुव्वा नारायण प्रसाद चेम्जोङ । मन बहादुर लिम्बु र दगल सिं सेन लिम्बु समेत ४ जनाको वारेस वर्ष २३ को कृष्ण कुमार ईवाहाङ लिम्बु ।
सन्दर्भ सुची –
1.दगल सिं.एक प्रतिभा पेज २६ र गोविन्द बहादुर थापा केरावारी १ मोरङ
2.दगल सिं.एक प्रतिभा पेज १८ र पण्डीत लक्ष्मी प्रसाद ढुंगाना,डांडाबजार धनकुटा
3.दगल सिं.एक प्रतिभा पेज ९७ र जनक सिं सेन चोत्रेगु थेगीमहाङ, दमक झापा
4.विकिपिडीया एक स्वतन्त्र कोष
5.द जेनेवलोजी हिस्टोरी अफ किरात सेनेहाङ लिम्बु, पानं.१३८ आइएसविएन ९७८९९९४६२५६६६
6.दगल सिं.एक प्रतिभा पेज ६५ र पुर्ण नन्द शर्मा सोम्दु १ तेह्रथुम
7.दगल सिं.एक प्रतिभा पेज २ र एम.पि. तेजमान तुम्बाहाम्फे मियाङलुङ तेह्रथुम
8.दगल सिं.एक प्रतिभा पेज ४४ र अग्नी प्रसाद दहाल कुरुले तेनुपा ४ धनकुटा
9.दगल सिं.एक प्रतिभा पेज ९ र कर्ण बहादुर राइ, बांझो ७ ईलाम
10.दगल सिं.एक प्रतिभा पेज ३० र पुर्ण कुमार सेर्मा, साराङ डांडा ७ निगाले पान्थर
11.दगल सिं.एक प्रतिभा पेज ८६ र छविलाल नेम्बाङ, रमिते २ मोरङ
12.दगल सिं.एक प्रतिभा पेज १८ र पण्डीत लक्ष्मी प्रसाद ढुंगाना,डांडाबजार धनकुटा
13.दगल सिं.एक प्रतिभा पेज ९ र वर्ण बहादुर राइ, बांझो ७ ईलाम
14.दगल सिं.एक प्रतिभा पेज २६ र गोविन्द बहादुर थापा, केरावारी मोरङ
15.दगल सिं.एक प्रतिभा पेज २६ र गोविन्द बहादुर थापा, केरावारी मोरङ
16.द डिस्कोर्स एण्ड प्राक्टिस आफ किपट पानं. ४९
17.द डिस्कोर्स एण्ड प्राक्टिस आफ किपट पानं. ४१ हेमिल्टन १८१९.१८७१